जो कुकुर मर्दा १३ दिन किरिया बसिन्
कुने समय स्नेहा श्रेष्ठलाई अन्य आम नेपालीलाई जस्तै लाग्थ्यो, ‘जाबो कुकुर, फोहोरी कुकुर, जस्तोसुकै व्यवहार गर्न मिल्ने कुकुर ।’ ढोकाबाहिर कुकुर देखिँदा उनी लखेट्न पुग्थिन् । कुकुरको रौंले उनलाई ‘एलर्जी’ नै हुन्थ्यो । सोही कारण आफ्नो पतिले कुनै केनल क्लबबाट महंगो पैसा तिरेर प्रेमका साथ घरमा ल्याएका दुई कुकुरका छाउरालाई उनले बेवास्ता गरिन् । मान्छेसँगै रमाउन चाहने ‘बाबुआमा नभएका छाउरालाई उनले कोठामा छिर्ने अनुमति दिइनन् । घरबाहिर गाडी ग्यारेजतिरै राखिदिइन् । आफ्नो ‘स्नेहाज् केयर’मा अहिले करिब डेढ सय कुकुरसहित घेरिएकी स्नेहा उतिबेलाको घटनाका बारेमा थक्थकाउँछिन् , ‘मेरै वेवास्ता र संवेदनहिनताका कारण दुईमध्ये एक कुकुर मर्यो ।’
कुकुर मरेपछि उनलाई ‘कताकता नराम्रो’ लाग्यो । त्यति सानो छाउरालाई घरभित्रै पाल्नुपथ्र्यो भन्ने लाग्यो । ‘मान्छेको बच्चालाई हामी कति धेरै ख्याल गर्छौं । किनेरै ल्याएपनि उ पनि आखिर कसैको बच्चा हो भन्ने लाग्यो, अपराधवोध भयो,’ स्नेहा सम्झिछिन् । पर्यटन व्यवसायमा संलग्न स्नेहा र उनका पति काममा सधैं व्यस्त हुन्छन् । घरको कुकुरले एक्लो महसुस गर्ला भनेर उनका पतिले घरमा अर्को कुकुर ल्याए । अब भने उनलाई ‘कुकुर मर्छ कि’ भन्ने चिन्ता हुन थाल्यो । नयाँ कुकुर उनकोे मिल्ने साथी भयो । पहिले बिहान ढिलो उठ्ने उनी नयाँ कुकुरकै कारण छिटो उठ्न थालिन् । नयाँ कुकुरको नाम थियो– जारा ।
प्रिय जाराको १३ दिने किरिया र डिप्रेसन
जारालाई बिहानै डुलाउने, खाना खुवाउने र दिशापिसाब गराउने उनको नित्यकर्म बन्यो । जारा उनको यति प्रिय बन्यो कि अफिसबाट घर फर्कंदा उनलाई लिन खुसी हुँदै घरको मुलढोकासम्मै ओलिन्थ्यो र उनको हातमा मायाले टोक्दै कोठासम्म लैजान्थ्यो । लगभग ४ वर्षअघिको घट्ना सम्झिन्छिन् स्नेहा, ‘उसँग निकट भएको करिब ८ महिना बितेको थियो । एक दिन बेलुका घर पुग्दा जारा मलाई लिन गेटमा आएन । मनमा चिसो पस्यो । हामी घरमा नहुँदा उसलाई छिमेकीले बिष खुवाइदिएछन् ।जीवनको अन्तिम घडीमा पीडाले छट्पटाएको अवस्थामा पाएँ उसलाई ।’ उ खेल्ने ठाउँ पुरै रगतले लत्पतिएको थियो । कुकुर भुक्यो भनेर मलाई गुनासो गर्ने छिमेकीको कर्तुत थियो त्यो । जारालाई बचाउँन सम्भव भएसम्म सबै उपाय लगाइन् उनले ।
बच्ला कि भन्ने आशामा उनी भगवानको व्रतसमेत बसिन् । तर उनको कोसिस खेर गयो, जरा मर्यो । स्नेहालाई त्यस घटनाले एक महिनाजति डिप्रेसनले गाँज्यो । पहिले व्यवसायमा अति चिन्ता राख्ने उनी एक महिना घरबाहिर जानै सकिनन् । जाराको सम्झनामा स्नेहाले विधिपूर्वक १३ दिने किरिया सम्पन्न गरिन् ।
शोकबाट शक्ति
जाराको मृत्यु बिर्सन उनले बाटामा भेटिएका कुकुरलाई बिस्कुट ख्वाउन थालिन् । गाडीबाट यात्रा गर्ने क्रममा कहिल्यै झ्यालको सिसासम्म खोलेर कुकुरप्रति नजर नपुर्याउने स्नेहाको असली स्नेह जाराको मृत्युपछि प्रकट भयो । ‘घरभित्र बस्ने कुकुरलाई त बिष हाल्दिन्छन् भने बाहिरका कुकुरको हालत के होला ?,’ स्नेहाले भनिन्, ‘सडकमा लगेर बिस्कुट दिन भ्याउँदिनथे, सबै बिस्कुट खाइसक्थे भोका कुकुर ।’ त्यस क्रममा मान्छेले कुटेर घाउ लागेका, तातो पानी खन्याइएका अनेक खालका कुकुर भेटिन् । एक केनल क्लबसँग प्रति कुकुर दुई सय पचास तिर्नेगरी आफ्नै खर्चमा ती कुकुरको उपचार र खानपानको व्यवस्था थालिन् । एक महिनामै ४०–५० वटा कुकुरको उद्धार गरिन् । सडकमा भेटिएका घाइते र बिरामी कुकुर ल्याउँदा केनल क्बल नै भरिएपछि यसमा समूह बनाएर काम गर्दा सहज हुन्छ जस्तो लाग्यो उनलाई ।
स्नेहाज् केयर
केही हितैसी मित्रसहितको समूह बनाउँदा धेरै कुकुरको उद्धार र रक्षा गर्न सकिन्छ भन्ने लागेपछि सोही अनुसार सन् २०१४ मा उनले आफ्नै नाममा ‘स्नेहाज केयर स्थापना गरिन् । ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा ५ रोपनी जग्गा भाडामा लिएर सञ्चालित स्नेहाज केयरमा आज बिरामी र चोटपटक लागेका कुकुर बस्छन् । अहिले यहाँ करिब डेढ सय कुकुर छन् । स्थायी रूपमा नै सय कुकुर यहाँ रहन्छन् । थोरै समयमा उपचार सम्भव भएका कुकुरलाई भने उपचारपछि बन्ध्याकरण गरेर जहाँबाट उद्धार गरेर ल्याइएको हो, त्यहीँ पुर्याइन्छ ।
‘टाउकोमा गम्भीर चोट लागेका, एसिड खन्याएका, खुट्टा भाँचिएका, टाउकोमा किरा परेकाको भने उपचार गर्न कमसेकम तीन महिना लाग्छ । ल्याएका जति सबै यहीँ राखेर पालौं भन्ने लाग्छ’, स्नेहाले भनिन् , ‘तर म सक्दिन । राख्ने ठाउँ र ख्वाउने खानाकै अभाव हुन्छ । तर लामो समय यहाँ बस्दा उनीहरूको प्रेम यही ठाउँप्रति हुन्छ र यहाँ राम्रोसँग खान पनि पाउँछन् । सडकमा फर्केर फेरी संघर्ष गर्न र फेरि बाटो क्रस गर्न नजान्दा दुर्घटनामा पर्ने अवस्थामा हामी उनीहरूलाई यहीँ राख्छौं ।’ हाल यस संस्थामा डाक्टर, सफाइकर्मी, कुकुर समात्ने व्यक्ति, भेट प्राविधिक, ड्राइभर र सेल्टर म्यानेजर गरेर जम्मा १४ जना कार्यरत छन् । संस्थाको आफ्नै ‘जनावर एम्बुलेन्स’ छ । संस्थामा नेपाली र विदेशी स्वयंसेवीहरू आएर काम गरिरहेका हुन्छन्।
खर्च व्यवस्थापन
‘कुकुर उपचार लगायतको काममा करीब ६-७ लाख मासिक खर्च हुन्छ । जसमध्ये करिब ८० प्रतिशत मेरै खर्च हुन्छ । कतिपय विदेशी नागरिकले औषधी र सेल्टरलाई उपयोगी सामान ल्याइदिएपनि उनीहरूले त्यस्तै दुई-तीन प्रतिशतमात्रै आर्थिक सहयोग गर्छन् । बरु कलेजमा पढ्ने र विदेशमा रहेका कतिपय नेपालीले मन खोलेर सहयोग गर्छन्,’ स्नेहा गर्वका साथ भन्छिन्, ‘आज स्कुल र कलेजमा खाजा खाने पैसा कटाएर दुई चार पैसा सहयोग गर्ने विद्यार्थी भोलीका जनवार अधिकारकर्मी हुन् । उनीहरूले नै ल्याउने हो जनावरप्रतिको गलत धारणामा परिवर्तन । यी सारा बेसाहाराको आमा बन्न पाउँदा म अति खुशी छु ।’
कुकुर पुजा
‘कुकुर लगायतका प्रकृतिका धेरै जनावरलाई पुजा गर्ने प्रचलन अन्यत्र विश्वमा कहीँ छैन तर पनि हाम्रो भाषा नबुझ्ने यस्ता प्राणीलाई ३६४ दिन लात्ताले हान्ने अनि एकदिन चाहिँ माला लगाउने ? एक दिनचाहिँ बाटोको कुकुर खोजेर भएपनि कोचीकोची ख्वाउने, दशवटा माला लगाइदिने ?,’ संस्थाको एम्बुलेन्समा सडकका कुकुर ल्याएर उपचार गर्ने स्नेहाले भावुक हुँदै आक्रोस पोखिन्, ‘अरु दिनचाहिँ ढुंगाले हान्ने, मासु पसल अगाडि आउँदा मासु काट्ने खुकुरी झट्टी हानेर रगताम्य बनाउने, रेस्टुरेन्ट अघि कुकुर आउँदा तातो पानी खन्याइदिने ? यो एक दिनचाहिँ पुजाको नाटक किन ? भगवानलाई पनि ढाँट्न सकिन्छन् भन्ने ठान्छन् कि के हो मान्छेहरू । बोल्न नसक्ने प्राणीलाई जति सक्नुहुन्छ, त्यति गर्नुहोस् । घरमा उब्रेको खानेकुरा दिनुहोस्, पानी खुवाइदिनुहोस् । त्यो पो सही अर्थमा पूजा हुन्छ।’
कुकुरको प्रजनन् र एडप्सन
काठमाडौंमात्र होइन, नेपालका हरेक शहर र गाउँमा कुकुरको बिचल्ली छ । कुकुर लगायतको जनावरको उद्धार गर्ने एनिमल नेपाल, काठमाण्डु एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट), भक्तपुर एनिमल वेलफेयर सोसाइटी, स्ट्रीटडग केयर, कपन मोनस्ट्री वेलफेयरजस्ता संस्था क्रियासिल पनि छन् । काठमाडौं महानगरपालिकामा पच्चिस हजार कुकुर छन् भनिने गरिएपनि स्नेहाका अनुसार पाँच लाख बढी छन् । त्यसो हुँदा पनि मान्छेहरू सडकका परित्यक्त कुकुरलाई हेँला गर्छन् र केनल क्लबमा गएर महंगा विदेशी कुकुर ल्याएर पाल्छन् । ‘विदेशी जातका कुकुरभन्दा स्वदेसी बलिया र निरोगी हुन्छन् । क्रस गरिएका कुकुरले जत्तिकै तालिम गर्न सक्छ स्थानीय कुकुरले । त्यसमाथि बुढो भएर प्राण जानेबेलासम्म बलजफ्ति गर्भाधान गराएर, सानो पिँजडाजस्ता भाँडामा कोचेर प्रजनन् गराइएका ‘पप्पी’ किन्नुभन्दा मायाप्रेमका भोका सडकका कुकुरलाई पाल्नु उचित हो,’ स्नेहाको मत छ ,‘उमेरका हिसाबले पनि नेपाली कुकुर नै
धेरै बाँच्छ । भ्याक्सिनेसन र बन्ध्याकरण गरिएका कुकुर लाने हो भने मेरै संस्थाबाट निशुल्क लैजाँदा पनि भयो।’ आम मान्छेमा ब्रिड गराएको कुकुरले तालिम छिटो गर्छ भन्ने अवधारणा रहेको र सडकबाटै उद्धार गरेको कुकुरले म्युजिक भिडियोमा खेलेको उदाहरण पेश गर्छिन् स्नेहा । नेपालीले उति रुचि नदेखाएपनि विदेशीले भने गाडीले किचेर शरीरको पछिल्लो भाग नचल्ने अवस्थामा रहेका कुकुरहरू समेत अडप्ट गरेर लाने गरेको उनले बताइन् ।
पिता र कुकुर
स्नेहा नेतृत्वको संस्थामा आइपुग्ने कतिपय मान्छे यहाँ रहेकामध्ये एघार वटा शरीरको पछिल्लो भाग नचल्ने कुकुर देखेपछि भन्छन् , ‘यस्ता शरिरै नचल्ने कुकुरलाई त युथोनाइज (बिना पिडा इन्जेक्सन लगाएर मारिदिने प्रक्रिया) गरे नि भइहाल्छ नि !’ तर उनलाई शरीर नचल्दैमा प्राणी मार्नु उचित नहुने तर्क गर्छिन् । यस सन्दर्भमा छ महिनाअघि बितेका आफ्ना पिता सम्झिन् उनले, ‘मेरा पितालाई सत्र वर्षसम्म प्यारााइसिस भयो । तर मैले कहिले पनि मेरो बालाई सुई लाएर मार्ने कुरा सोचिन । बित्नुभन्दा पाँच दिन अघिदेखि म उहाँसँगै थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो–मलाई बचाउ । कति धेरै बाच्ने इच्छा ! यस्तै इच्छा सबै जनवारलाई हुन्छ । उनीहरूले मान्छेको भाषामा भन्न नसकेको मात्र हो । पछिल्लो भाग नचलेपनि ह्वीलचेयरको सहयोगले यहाँका कुकुर दौडन्छन् , रमाउँछन् । त्यो देख्दा मलाई अति आनन्द लाग्छ । ’
कुकुरको खाना
स्नेहा पहिले आफैं माशुको पारखी थिइन् तर कुकुरप्रतिको सेवामा हात हालेपछि उनले माछामासु छाडिन् । ‘कुकुरलाई चाहिँ माया गर्ने, मारेको खसी या राँगोचाहिँ कसरी खाने ? मेरो मायामा दोहोरो मपदण्ड देखियो र मैले मासु छाडें, ‘दोबाटोमा एउटा खसीको अगाडी अर्को खसी काटिएको देख्दा म कहाल्निछु ।’ सोही कारण पनि उनी सेल्टरका कुकुरलाई सिधै मासु ल्याएर खुवाउँदिनन् । कोल्ड स्टोरमा खेर गएका कुखुराका हाडखोर आदी किनेर ल्याई त्यसमा फर्सी र चामल मिसाएर पकाई बिहान र रातीको लागि कुकुरको खाना बनाएर खुवाउँछिन् । दिउसोचाहिँ कुकुरले बिस्कुट लगायतका खाजा पाउँछन् । संस्थामा आउने व्यक्तिहरूले बिस्कुट लगायतका खाजा ल्याइदिने गर्छन्।
चिन्ता र सपना
यो सेल्टर रहेको जग्गाधनीसँग संस्थाको सहमती सकिन अब दुई वर्ष बाँकी छ तर स्नेहाको मनमा चिन्ता मडारिन थालिसकेको छ । अहिले नै कतिपय छिमेकीले ‘हल्ला भयो’ भनेर गुनासो गरेपछि संस्था कहाँ सार्ने भन्ने चिन्ता छ उनलाई । ‘दुई वर्षपछि यत्रा कुकुर लिएर म कहाँ जाने होला ?’, उनी चिन्ता प्रकट गर्छिन् । संस्थामा अहिले कसैले पुच्छर काटिदिएको एउटा गोरुको पनि उपचार हुँदैछ । पखेटामा घाउ भएको एउटा परेवा पनि छ । स्नेहाज् केयरमा बिरालो, काग, बकुल्ला लगायतको चराको समेत उपचार हुन्छ ।
स्नेहाको सपना आम नेपालीले देख्ने सपनाभन्दा भिन्न छ । ‘दक्षिण एशियाबाहेकका अन्य देशमा मैले सडकमा कुकुर लगायतका जनावर देखिन । त्यहाँ उद्धार केन्द्रहरू मात्र रहेका हुन्छन् । सचेत व्यक्तिहरू त्यस्ता संस्थाबाटै कुकुर घरमा ल्याउँछन्,’ ‘तर हाम्रोमा त्यो चलन छैन । जनावरलाई कसरी व्यवहार गर्नेबारे कानुन छैन । गाईको दुध खाएर कलिलो बाच्छाबाच्छीलाई सडकमा मरोस् भन्दै फँयाकिदिन्छन् । त्यसैले सडकमा बेसाहारा भएर भोकै हिँडिरहेका कुनै प्राणी देख्न नपरोस् । जनावरलाई अति माया गर्ने र पुजा गर्ने देश भनेर नेपाल विश्वमा चिनियोस् । त्यही मेरो सपना हो।’